• New Baneshwor-31, Kathmandu, Nepal
  • Open 10am-5pm: Monday - Friday
  • drop us an email info@nepalsecgov.org
  • 24/7 emergency service +977-1-4104027
  • Donate Now

News Detail

‘सेनाले सरकारका संवैधानिक आदेशहरूलाई मात्र ग्रहण गर्छ’

‘सेनाले सरकारका संवैधानिक आदेशहरूलाई मात्र ग्रहण गर्छ’

काठमाडौँ — नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले तीन वर्षको कार्यकाल पूरा गरी अर्को महिना अवकाश पाउँदै छन् । उनी आफ्ना उत्तराधिकारी प्रभुराम शर्मालाई कायममुकायमको जिम्मेवारी सुम्पी मंगलबारदेखि एक महिना बिदा बसेका छन् ।

प्रधानसेनापति थापासँग साउन २१ गते जंगी अड्डास्थित उनको कार्यकक्षमा कान्तिपुरका सुधीर शर्मा र जगदीश्वर पाण्डेले लामो कुराकानी गरेका थिए । प्रस्तुत छ, सम्पादित अंश :

तपाईं प्रधानसेनापतिका रूपमा आफ्नो तीनवर्षे कार्यकालको अन्त्यतिर हुनुहुन्छ, सोचेका काम कति गर्न सक्नुभयो ?

नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि पद्धति र प्रणाली मेरो पहिलो प्राथमिकतामा थियो । त्यसका लागि हामीले पहिलो वर्षमै झन्डै ५०० जति कार्यविधि, निर्देशिका, निर्देशन र कार्यप्रणालीहरू तयार गरेका थियौं । त्यसपछि त्यही पद्धति र प्रणालीलाई आधार मानेर नेपालको संवैधानिक जिम्मेवारीअनुसार नेपाली सेनाको ‘भिजन’ हुनुपर्छ भन्ने मान्यताबाट हामीले सन् २०३० लाई लक्ष्य बनाएर काम गर्‍यौं । झन्डै दुई वर्ष त हामीले ‘नेपाली आर्मी भिजन–२०३०’ मै काम गर्‍यौं ।

त्यसपछि त्यो भिजनअनुसार अघि बढ्न हाम्रो संरचना पनि अरू विकसित राष्ट्रका सेनाहरूजस्तै हुनुपर्छ भन्ने सोच आइसकेपछि हामी ‘तीन जोड एक कमान्ड’ को अवधारणामा गयौं । त्यो तीन जोड एक र भिजन–२०३० लाई सहज हुने गरी हामीले संगठनात्मक संरचना पनि परिमार्जन गर्‍यौं । र, यी तीनवटा कामहरू समानान्तर रूपमा अगाडि बढे । कोभिडका कारण उत्पन्न परिस्थितिले गर्दा यी तीनवटा कामहरू मेरो कार्यकालमा सम्पन्न हुन्छन् वा हुँदैनन् भन्ने पनि लागेको थियो । तर मलाई सबैभन्दा खुसीको विषय नै के भयो भने कोभिडकै परिस्थितिमा पनि यी कामहरू पूरा भए ।

तपाईंले भन्नुभएको यो भिजन–२०३० को खास लक्ष्यचाहिँ के हो ?

कुनै पनि सेना आधुनिक र व्यावसायिक बन्नका निम्ति निश्चित मापदण्डहरू पूरा गरेको हुनुपर्छ । त्यसका लागि भिजन नै सबैभन्दा ठूलो चीज भयो । त्यसपछि सेनाको आधुनिकीकरणका निमित्त हातहतियारहरू पनि आधुनिक हुनुपर्‍यो । आन्तरिक सञ्चार प्रणालीको पनि त्यत्तिकै महत्त्व हुन्छ । सिपाहीको क्षमता अभिवृद्धि गर्न त्यस्तै तालिम दिनुपर्‍यो । नेपाली सेनालाई स्रोतसाधन, तालिम र समग्र दृष्टिकोणबाट आधुनिक एवम् व्यावसायिक बनाउन जे–जे आवश्यक हुन्छ, त्यसलाई हामीले विभिन्न १९ वटा क्षेत्र पहिचान गरी भिजन–२०३० बनाएका छौं । त्यसको विस्तृत व्याख्या यहाँ सम्भव नहोला तर यति भनौं— आगामी १० वर्षभित्र नेपाली सेनालाई साँच्चैको व्यावसायिक सेना बनाउनका निम्ति जुन–जुन आधारहरू चाहिन्छन्, तिनलाई यसले समेटेको छ । यो योजना पूरा गर्नका निमित्त राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको अपनत्व हुन जरुरी छ । त्यसकारण नेपाली सेनाको भिजन–२०३० लाई नेपाल सरकार, मन्त्रिपरिषद्बाटै अनुमोदन गरिएको छ ।

यसअघि नेपाली सेनाको संरचना संघीय स्वरूपसँग मिल्दो गरी सातवटा प्रदेशमा सातैवटा र उपत्यकामा एउटा गरी आठवटा पृतनाहरूमा आधारित थियो । अहिले तपाईंहरू ‘तीन जोड एक कमान्ड’ को नयाँ कमान्ड अवधारणामा किन जानुभएको हो ? संघीय संरचनासँग मिल्दोजुल्दो पहिलेको संरचना बदल्ने सोच अहिले किन आयो ?

एउटा त, नेपाली सेना संघीय वा केन्द्रीय फोर्स हो । राष्ट्रिय शक्तिका तत्त्वहरूमध्ये एउटा महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको कारणले गर्दा यसको ‘नेचर’ केन्द्रीय नै हुनुपर्छ । हामीले अहिले जुन अभ्यास गर्दै छौं, त्यो अन्य देशहरूमा पनि भएकै अभ्यास हो । नेपाली सेनालाई संविधानले जुन जिम्मेवारी दिएको छ, ती कार्यहरू पूरा गर्नका निम्ति यो व्यवस्था बढी व्यावहारिक हुन्छ । प्रादेशिक संरचनासँग समन्वय गर्नका निम्तिचाहिँ सातवटा प्रदेशहरूमा सातवटै वाहिनी तहका फौजहरूलाई त्यो जिम्मेवारी दिइएको छ । प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जुन स्तरका अधिकृतहरू हुनुहुन्छ, उहाँहरू ‘एकतारे जर्नेल’ बराबरको हो । त्यहाँ हुने हाम्रो वाहिनीपति पनि एकतारे नै हो । त्यसैले हामीले संघीयता र प्रादेशिक संरचनालाई ‘ओभरलुक’ गरेका छैनौं । त्यस्तै ७७ वटै जिल्लामा पनि जिल्लाका अन्य निकाय बराबरकै अधिकृत रहने गरी हाम्रो एकाइ छ । सेनाको ‘एरिया अफ रेस्पोन्सिबिलिटी’ प्रदेशको संख्या कति छ भन्ने आधारमा हुँदैन । त्यसैले हामीले अलि ‘अपरेसनल पोइन्ट अफ भ्यु’ बाट कोसी, गण्डक र कर्णाली रिभर बेसिन र भूगोलको विभाजनलाई आधार मानेर कमान्डहरू बनाएका हौं । अहिलेको संवैधानिक व्यवस्थामा यसले कुनै असर पार्दैन ।

नेपाली सेनाको स्वरूप र आकारलाई लिएर बेलाबखत बहस हुने गरेको छ । यसको ‘डाउनसाइज’ या ‘राइटसाइज’ गर्नुपर्ने चर्चा पनि चल्छ । हालको कमान्ड संरचनाले त सैन्य संख्या अरू बढाउने होइन ?

सैन्य संख्याको सन्दर्भमा त जहिले पनि ‘राइटसाइजिङ’ नै सही शब्द हो । सेनाको संख्या बढी भयो भने पनि त्यसको एउटा अवधारणामा रहेर बढ्ने हो । घट्यो भने पनि एउटा निश्चित मापदण्डलाई नै आधार मानेर गर्ने हो । चारवटा कमान्ड संरचना हुँदा पनि संख्याको हिसाबले कुनै तात्त्विक असर पार्दैन । बरु त्यसबाट फाइदाचाहिँ के भएको छ भने आठवटा पृतनामा हुने स्रोतसाधनहरू चारवटा कमान्डमा जम्मा हुन्छ र त्यो बढी प्रभावकारी पनि हुन्छ ।

संख्याको निर्धारण देशको जनसंख्या र सम्भावित ‘थ्रेट’ हरूलाई हेरेर हुने हो । अहिले पनि थ्रेटहरू छन् । यो महामारीको परिस्थितिमा परिचालित हुँदा त हामीलाई ‘ए हाम्रो फौज त अलि अपर्याप्त हो कि’ जस्तो पनि लाग्यो । तर हामीले भित्रैबाट व्यवस्थापन गरिरहेका छौं । अहिलेको राइटसाइज भनेको अहिले भइरहेको सेनाको आकारै हो । भोलि परिस्थिति फरक भयो भने त्यस आधारमा बढ्न पनि सक्छ, घट्न पनि सक्छ । संख्या घटाउने एउटा आधार सेनाको आधुनिकीकरण पनि हो । यदि हामीसँग आधुनिक हातहतियार छन्, आधुनिक प्रविधि छ, हेलिकप्टर, जहाजलगायतका हवाई स्रोत–साधनहरू छन्, ‘ग्राउन्ड मोबिलिटी’ का निम्ति पर्याप्त साधनहरू छन् र सञ्चारका साधनहरू आधुनिक छन् भने त कम संख्या हुनुपर्छ भनेर हामी नै लबिइङ गर्न सक्छौं होला । तर त्यो स्तरको तयारी नभएसम्म अहिले भइरहेको संख्या मेरो हिसाबले सही नै होजस्तो लाग्छ ।

तपाईंले नेपाली सेनालाई डिजिटाइज्ड प्रणालीमा लैजानुभएको कुरा सार्वजनिक भएको थियो । यस अर्थमा सेनाको आन्तरिक कार्यशैलीमा हिजो र आज के–कति अन्तर आएको छ ?

पक्कै पनि डिजिटाइजेसनलाई एउटा प्रोजेक्टको रूपमा लिने हो भने त्यो मेरो ‘ड्रिम प्रोजेक्ट’ नै थियो । मैले पहिलो दिन नै जुन ‘प्रधानसेनापतिको कमान्ड मार्गनिर्देशन–२०७५’ सुरु गरें, त्यो डिजिटल फर्ममै सुरु गरें । त्यसलाई हामीले सुरुमा जंगी अड्डा र त्यसपछि पृतना, वाहिनी, अड्डा, गण, गुल्मसम्म ७७ वटै जिल्लामा लिएर गयौं । यसअघि देशको दूरदराजका कठिन भूबनोटमा बस्ने सैनिक व्यक्तिहरूसँग कुनै किसिमको पत्राचार गर्नुपर्‍यो वा छिटोभन्दा छिटो कुनै निर्णय लिनुपर्‍यो अथवा त्यहाँका कुनै युनिटलाई केही महत्त्वपूर्ण सामग्री तुरुन्तै चाहियो भने पनि, मेरो आफ्नै अनुभवमा, झन्डै ६–७ महिना त त्यहाँबाट माग–फारमहरू आउनै लाग्थ्यो । अहिले कुनै चीज अत्यावश्यक छ भने पाँच मिनेटमै काम गर्न सकिने अवस्था छ । नेपाली सेनालाई एउटा आधुनिक सेनाका रूपमा विकास गर्न पनि डिजिटाइजेसन आवश्यक थियो । सुरुमा हामीले कागजको प्रयोग घटाउने उद्देश्यले त्यो काम थालेका थियौं । विस्तृत अध्ययन त गर्न पाएको छैन, तर स्टेसनरीमा हाम्रो जति खर्च हुन्थ्यो, त्यो अब निकै घटेको छ । डिजिटल फर्म्याटमा गएपछि हाम्रा अधिकांश गाडीहरूको ‘मुभमेन्ट’ पनि अनुगमन गर्न सजिलो भएको छ । इन्धनलाई व्यवस्थित गर्न र खर्च घटाउन पनि यसबाट सहज भएको छ ।

सेनाको नेतृत्वमा आएपछि तपाईं आफ्नो व्यक्तिगत सम्पत्ति सार्वजनिक गर्ने सम्भवतः पहिलो प्रधानसेनापति हुनुभयो । तर करिब दुई दर्जन उच्च अधिकारीबाहेक अरूले यसरी सम्पत्ति विवरण सार्वजनिक गरेको देखिएन नि ? उनीहरूले त्यसो गर्न नमानेका हुन् कि तपाईंले नै आँखा चिम्लिनुभएको ?

नेपाली सेनाको पद्धति, प्रणालीलगायत आर्थिक अनुशासनका कुराहरूमा आफैं उदाहरण बनिएन भने अरूलाई भन्न गाह्रो हुन्छ भनेर मैले त्यसो गरेको हो । मैले त्यो व्यक्तिगत उदाहरणका निम्ति मात्रै गरेको हो । त्यो गर्नु मलाई पनि आवश्यक थिएन । सुरु–सुरुमा जति पनि जर्साबहरूले गर्नुभयो, त्यो गरेपछि मैले के महसुस गरें भने यो चीजलाई अनिवार्यचाहिँ गर्न हुँदैन । किनभने यो उहाँहरूको व्यक्तिगत अधिकारको कुरा पनि हो । जहाँसम्म उहाँहरूको सम्पत्ति विवरणको कुरा हो, त्यो सबै हाम्रो नियन्त्रणमा हुन्छ । हामीले छानबिन गर्नुपर्‍यो भने निश्चित तहमा गएर पाउन सकिन्छ । कसैमाथि शंका हुने स्थिति भयो भने हामीसँग सबै जानकारी हुन्छ । त्यो कन्ट्रोल मसँग छ, हरेक प्रधानसेनापतिसँग हुन्छ ।

तपाईंले आन्तरिक सम्बोधनमा सेनाभित्र पनि अनियमितता रहेको उल्लेख गर्नुभएको थियो । तपाईं त्यस्तो निष्कर्षमा किन पुग्नुभयो ? त्यसका केही दृष्टान्त पनि थिए कि ?

त्यसमा त मैले छानबिन गरेरै देखाइहालें । जुन ठाउँसम्म हामी प्रमाणित रूपमा जान सक्ने अवस्थामा थियौं, हामी गयौं पनि । त्यसले एउटा नतिजा पनि दियो । कुनै पनि संगठनमा राम्रा–नराम्रा दुवै पक्षहरू हुन्छन् । यो संगठनभित्र पनि यो समाजकै ‘रिफ्लेक्सन’ हुने हो । त्यसैले हामीकहाँ पनि कहीँ न कहीँ कमजोरी रहेछ भन्ने देख्यौं र त्यसको छानबिन गर्‍यौं । अहिले त्यो धेरै हदसम्म नियन्त्रण भएको छ भन्ने मलाई पूर्ण विश्वास छ । यद्यपि यसका अरू पाटाहरू भविष्यमा कसरी आउँछन्, ती छँदैछन् । किनभने यो मानवीय पक्ष पनि हो । मानवीय कारण भएकाले म अहिले नै भन्दिनँ कि (अनियमितता नियन्त्रण) शतप्रतिशत भइसक्यो ।

नेपाली सेनामा अनियमितता वा भ्रष्टाचारका मामिलामा कारबाही गर्दा कहिलेकाहीँ कसैको बढुवा रोक्ने वा एउटा पक्षले अर्कोलाई तह लगाउने उद्देश्यबाट पनि हुन्छ भनिन्छ नि, यसबारे तपाईंको के टिप्पणी छ ?

त्यस्तो अवस्था छैन, तर यो पनि मानवीय पक्ष रहेकाले कहीँ कतै यस्तो प्रवृत्ति छ भने त्यसमा भविष्यमा पनि सुधार गर्नैपर्छ । त्यो किसिमको परिस्थिति नहोस् भनेर नै अलिकति कडाइका साथ यसमा जान खोजिएको हो ।

कोभिडको महामारीबाट मुलुक अझै बाहिर निस्कन सकेको छैन । सुरुआती चरणमा यसको चुनौती सामना गर्ने कार्यमा नेपाली सेना प्रत्यक्ष संलग्न भएको थियो । त्यसको अनुभव कस्तो रह्यो ?

त्यो अभियान र योजनाको उद्देश्य नै के थियो भने ‘होल अफ द गभर्मेन्ट अप्रोच’ नभई, ‘होल अफ द नेसन अप्रोच’ नभई यस्ता चुनौतीहरूको सामना गर्न सकिँदैन । यसको सामना गर्न संयुक्त रूपमा अगाडि बढ्नुपर्छ भन्ने नै हाम्रो अवधारणा थियो । त्यसबेला कोभिडबाट बितेकाहरूको व्यवस्थापन सबैभन्दा चुनौती हुन सक्छ भन्ने कुरा मैले सुरुका दिनदेखि नै अनुमान गर्दै आएको थिएँ । अन्य सुविधासम्पन्न मुलुकहरूमा पनि यस किसिमको संकट देखा परेको थियो । त्यसैले हामीले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरूको शव कसरी व्यवस्थापन गर्ने भनेर हरेकजसो ब्यारेकमा तालिम दियौं । यस्ता थुप्रै किसिमका चुनौतीहरूको सामना गर्न हामीले योजना नै बनाएर तत्कालीन सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थापन केन्द्र) बाट लागू गर्‍यौं । समग्रमा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा रहने गरी र सुरक्षामा चाहिँ गृह मन्त्रालयको नेतृत्व हुने गरी हामीले काम अगाडि बढायौं ।

त्यतिबेला कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रक्रियामा पनि नेपाली सेना संलग्न भयो । त्यो जिम्मेवारी अलि अनपेक्षित थिएन ? अरू सरकारी निकायहरू हुँदाहुँदै किन सेनाले त्यो जिम्मेवारी लिएको ?

अनपेक्षित भए पनि त्यस बेलाको वास्तविकता के हो भने हामी सबै जना थाहा नपाएको संकटको सामना गर्दै थियौं । त्यस्तो अवस्थामा हामीले चाहे पनि, नचाहे पनि त्यो काममा ‘नो’ भन्दा भोलि साँच्चै संकट बढ्यो भने राज्यले दिएको संवैधानिक जिम्मेवारीबाट नेपाली सेना पछाडि हट्यो भन्ने आरोप पछिसम्म खेप्नुपर्ने हुन्थ्यो । स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी लिँदा र नलिँदाको ‘इम्प्लिकेसन’ उही किसिमको हुन्थ्यो । जंगी अड्डामा पीएसओज (प्रिन्सिपल स्टाफ अफिसर्स) बसेर उपयुक्त हो वा होइन भनेर मूल्यांकन गरिसकेपछि हामी त्यो जिम्मेवारी लिनुपर्छ भन्ने निचोडमा पुगेका थियौं ।

अनि दुईतारे जर्नेलकै नेतृत्वमा पीएसओजबाटै ‘म्यान्डेट’ लिएर पारदर्शितामा कुनै किसिमको अन्यथा नआउने गरी, सार्वजनिक खरिद ऐन–नियमावलीलाई पछ्याउँदै हामीले काम अगाडि बढायौं । स्वास्थ्य, रक्षा र परराष्ट्र मन्त्रालय, सार्वजनिक खरिद अनुगमनलगायतको संयुक्त टोली बनायौं । त्यसले हरेक चरणमा जुन–जुन मन्त्रालय र निकायको जिम्मेवारी हो, ती मन्त्रालयबाट स्वीकृति लिएर मात्रै काम गर्‍यो । सेनाले जिम्मा लिइसकेपछि आर्थिक रूपमा कुनै पनि हालतमा तल पर्नु हुँदैन भन्ने विश्वासका साथ हामीले काम अगाडि बढायौं । तैपनि टीकाटिप्पणीहरू भए, त्यसलाई मैले अन्यथा रूपमा लिएको छैन ।

स्वास्थ्य सामग्री खरिदका क्रममा कतिपय निजी कम्पनी र नेताहरू अनियमिततामा मुछिए । त्यस बेलाका घटनाहरूले नेपाली सेनाको छविमा धक्का पुगेजस्तो तपाईंलाई महसुस हुँदैन ?

नेपाली सेनाले पारदर्शी ढंगले काम गर्दै जाँदा पनि त्यस किसिमको परिस्थिति सृजना हुनु पक्कै पनि राम्रो कुरा थिएन । हामीले त्यसलाई चिर्ने प्रयास पनि गर्‍यौं । नेपाली सेनाको नेतृत्वको हैसियतले अहिले पनि म ठोकुवाका साथ भन्छु— आर्थिकलगायत कुनै पनि पक्षमा हाम्रो संलग्नता रहेन । त्यसबेला टिममा खटिएका हाम्रा अधिकृतहरूले रातदिन नभनी काम गरेका थिए । तैपनि नकारात्मक आरोप लाग्दा उनीहरूलाई कस्तो भयो होला !

तपाईंको कार्यकालमा राजनीतिक उथलपुथल निकै भयो । दुईचोटि त प्रतिनिधिसभा भंग गर्ने कोसिस नै भयो । राजनीतिक र संवैधानिक वैधताको प्रश्नसमेत उठ्यो । त्यो घटनाक्रममा नेपाली सेनाको भूमिका कस्तो थियो ? तपाईंलाई पनि कुनै एउटा पक्षमा उभिन दबाब थियो होला नि ?

यसमा त म सधैं प्रस्ट रहें । नेपाली सेनाको संवैधानिक जिम्मेवारी र दायित्व के हो भने, यसले सरकारले दिएका संवैधानिक आदेशहरूलाई मात्र ग्रहण गर्छ । संविधानभन्दा बाहिर रहेर गरिएका आदेशहरू कार्यान्वयन गर्न असहज हुन्छ भन्ने कुरा मैले प्रस्टसँग राखेको थिएँ । त्यसैले पनि होला, प्रधानसेनापतिले र नेपाली सेनाले यो गर्नका निमित्त यो पक्षमा उभिदिनुपर्छ भन्ने किसिमको कुनै दबाब तत्कालीन सरकार र प्रतिपक्षका नेताहरूबाट आएन । मलाई मेरा शुभचिन्तकहरूले जहिले पनि के भन्नुहुन्थ्यो भने, नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र दायरा नाघ्नु हुँदैन । त्यो पक्षलाई मैले सुरुदेखि नै बुझ्ने प्रयास गरें । त्यसैले राजनीतिक परिस्थिति जस्तोसुकै हुँदा पनि मैले अप्ठेरो महसुस गर्नुपरेन ।

नागरिक–सैन्य सम्बन्धको कुरा गर्दा, नेपालको परिप्रेक्ष्यमा यो कस्तो अवस्थामा छजस्तो लाग्छ ?

नेपालको परिप्रेक्ष्यमा नागरिक–सैन्य सम्बन्ध सन्तोषजनक स्थितिमा छ । हाम्रा थुप्रै अधिकृतहरूले अन्तर्राष्ट्रिय स्तरको ‘एक्सपोजर’ पाएका छन् । हामीले विभिन्न विकसित मुलुकहरूमा भएका अभ्यासलाई नै आत्मसात् गर्ने प्रयास गरेका छौं । मेरै कार्यकालको अनुभव भन्नुपर्दा, हामीले भिजन–२०३०, सांगठनिक पुनःसंरचना र तीन जोर एक कमान्डको अवधारणा लागू गर्दा नेपाल सरकारबाट सहजताका साथ ‘अनरसिप’ लिने काम भयो । नेपाली सेना र नेपाल सरकारका बीचमा नागरिक–सैन्य सम्बन्ध राम्रो अवस्थामा रहेको यसले पनि देखाउँछ ।

एउटा भनाइ के छ भने रक्षा मन्त्रालय सधैं जंगी अड्डाको छायामा पर्ने गरेको छ । अझ प्रस्टसँग भन्दा— नेपाली सेना नागरिक नेतृत्वको नियन्त्रणमा नभई स्वायत्त ढंगबाट चल्ने संस्था बनेको छ भन्ने गरिन्छ । यसबारे के भन्नुहुन्छ ?

मेरो अनुभव त्यस्तो छैन । एउटा व्यावसायिक सेना भएकाले हामी आफ्ना एजेन्डा र विभिन्न विषयहरू ऐन, नियम, कानुनहरूको परिधिभित्र रहेर रक्षा मन्त्रालयसमक्ष राख्छौं । हामीले गर्ने कार्यमा रक्षा मन्त्रालयले कुनै त्रुटि देख्यो भने उसले हामीसँग समन्वय गरेरै गर्छ । आखिरमा हामीले खोजेको त नतिजा हो । हामी पद्धति र प्रणालीमा चलिसकेपछि रक्षा मन्त्रालयलाई पनि यो भएन, त्यो भएन भनेर भनिरहनुपर्ने अवस्था आउँदैन ।

फेरि कुनै महत्त्वपूर्ण विषय छ भने कि रक्षा मन्त्रालयमा गएर ‘ब्रिफिङ’ गर्ने अथवा जंगी अड्डामै उहाँहरूलाई बोलाएर ब्रिफिङ गर्ने चलन छ । पहिले नै विषयहरूमा जानकारी दिएर प्रस्ट पारिसकेपछि उहाँहरूलाई निर्णय गर्दा सहज हुन्छ । रक्षा मन्त्रालयका पदाधिकारीहरूले जंगी अड्डामा आएर ब्रिफिङ सुन्दा कसैले अन्यथा मान्नुपर्दैन । खासमा त्यहाँका पदाधिकारीहरूलाई हामीकहाँ ल्याएर ब्रिफिङ गर्दा सहज हुन्छ, किनकि हाम्रोमा त्यसका लागि आवश्यक वातावरण र प्रविधिहरू हुन्छन् । तर कतिपयले त्यसलाई अर्कै किसिमबाट व्याख्या गर्न खोजेको देखिन्छ । त्यो होइन । हामी यहाँ महत्त्वपूर्ण अंगका प्रमुखहरू र सदस्यहरूलाई बोलाएर नेपाली सेनाको अवस्थाका बारेमा जानकारी गराउँछौं । जंगी अड्डा आउँदैमा अन्यथा अर्थ लगाउनु हुन्न भन्ने हिसाबमा ‘कन्भिन्स’ गराएपछि संवैधानिक निकायका पदाधिकारीहरू यहाँ आउनुहुन्छ, ब्रिफिङ सुन्नुहुन्छ । हामी उता नै गएर पनि ब्रिफिङ गर्छौं र सुन्छौं । त्यसले गर्दा हामीले भन्न खोजेको कुरा स्पष्ट हुन्छ । विगतमा पनि यस्तो अभ्यास नभएको होइन, हुन्थे । विगत तीन वर्षको अवधिमा चाहिँ ‘फ्रिक्वेन्सी’ पक्कै बढ्यो ।

नेपाली सेनालाई खास–खास राजनीतिक मोडहरूमा भूमिका खेल्ने राज्यको ‘स्थायी संस्थापन’ समेत भन्ने गरिन्छ । यसमा तपाईं सहमत हुनुहुन्छ ?

राज्यले नेपाली सेनालाई जुन संवैधानिक दायित्व दिएको छ, हामीले त्यसैको दायरामा रहेर आफ्नो कर्तव्य निर्वाह गर्ने हो । नेपाली सेनाले मुलुकमा स्थायित्वका लागि विगतमा पनि भूमिका खेलेको छ र भविष्यमा पनि खेल्नुपर्छजस्तो लाग्छ ।

तपाईंको कार्यकालमा नेपाली सेनामा सर्भे तथा सीमा अनुगमन निर्देशनालयको पनि स्थापना भयो । यसको आवश्यकता किन पर्‍यो ?

हाम्रो संविधानले नै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नेलगायत पाँचवटा पक्षहरूको जिम्मेवारी नेपाली सेनालाई तोकेर दिएको छ । त्यसअनुसार आफ्नो देशको सीमाका विषयमा जानकारी राख्नु हाम्रो संवैधानिक दायित्व नै हो । बीचमा त्यो कुरा कताकता ‘मिसिङ’ थियो । एउटा कालखण्डमा आएर नेपाली सेनाको त्यो भूमिका कताकता छायामा परेको हामीले महसुस गर्‍यौं । परेको बेलामा नेपाली सेनासँग सीमासँग सम्बन्धित आधारभूत दस्तावेज र सूचनाहरू पनि उपलब्ध हुनुपर्थ्यो । त्यसैले परराष्ट्र र गृह मन्त्रालय, पुरातत्त्व विभाग, नापी विभाग आदिसँग भएका सूचना, नक्सा र दस्तावेज संकलन गरिएको हो ।

यस्ता सामग्री विभिन्न निकायबीच ‘सेयर’ गरियो भने कहीँ कतै क्षति पुग्दा पनि अन्यत्र सुरक्षित रहन्छ । त्यसअनुरूप हामीसँग भएका दस्तावेज, उहाँहरूसँग भएका दस्तावेजहरू एकआपसमा आदानप्रदान गर्ने काम भयो । सुरुमा हामीले एउटा टिम मात्र खडा गरेर यो काम गरेका थियौं । दोस्रो चरणमा नेपाल सरकारबाट निर्णय नै गराएर सर्भे तथा सीमा अनुगमन निर्देशनालय खडा गरियो । यसले दस्तावेज संकलन गर्ने र सीमाका गतिविधिका बारेमा जानकारी राख्ने काम गर्छ । नेपालमा सीमासँग झन्डै ३४ वटा कार्यालय, मन्त्रालय र निकायहरू प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका छन् । ती निकायबीच राष्ट्रिय सुरक्षाका दृष्टिकोणले पनि सहकार्य र अन्तरक्रिया हुनुपर्छ भन्ने महसुस भएको छ ।

हाम्रा दुई छिमेकीमध्ये भारततर्फ खुला सीमा छ । स्थानीय आवागमन र सामाजिक सम्बन्धमा यसको सकारात्मक योगदान छ तर यसका कारण कतिपय समस्या पनि आइरहन्छन् । ठाउँ–ठाउँमा सीमा विवाद पनि छ । हालै महाकाली नदीमा एक नागरिक भारतीय सुरक्षाकर्मीका कारण तुइनबाट झरेर बेपत्ता भएका छन् । सीमा क्षेत्रका यी र यस्ता समस्या समाधानका लागि के गर्न सकिएला ?

यो परराष्ट्र र गृह मन्त्रालयको चासोको विषय भएकाले मैले बोल्नु उचित हुन्न । सिमाना खुला भनिए पनि, नभनिए पनि त्यो कुनै न कुनै ढंगबाट ‘रेगुलेट’ हुन्छ नै । यसबाट एकअर्कालाई पर्ने सम्भावित असरहरू पनि हेर्नुपर्छ । ती असरलाई ध्यान दिएर द्विपक्षीय रूपमा सहमति गरेर सिमानालाई रेगुलेट गर्नु नै उपयुक्त हुन्छजस्तो लाग्छ ।

नेपाली सेना र भारतीय सेनाबीच पुरानो संस्थागत सम्बन्ध छ । सैन्यस्तरको यो व्यावसायिक सम्बन्धले दुई देशबीचको बृहत्तर सम्बन्ध सुदृढ गर्नमा कत्तिको मद्दत मिल्दो रहेछ ?

सेना–सेनाबीचको सम्बन्ध भनेको नेपाली सेना र भारतीय सेना मात्र नभई संसारभरिकै अभ्यास हो । विभिन्न सेनाहरूका बीचमा एक किसिमको ‘वर्किङ रिलेसन’, चाहे नजिकको छिमेकीसँग होस् या टाढाको छिमेकीसँग, कायमै हुन्छ । अन्तरक्रिया, भ्रमण आदानप्रदान, संयुक्त अभ्यास आदि भइरहेको हुन्छ । दुवै छिमेकी र बाहिरका मित्रराष्ट्रहरूसँग पनि हाम्रो त्यत्तिकै राम्रो सम्बन्ध छ ।

अहिले अमेरिका र चीनबीच कतिपय रणनीतिक मामिलामा प्रतिस्पर्धा चलिरहेको देखिन्छ । नेपाली सेनाको दुवै राष्ट्रका सेनासँग एक खालको समानान्तर सम्बन्ध छ । नेपाली सेनामा उनीहरूको आपसी प्रतिस्पर्धाको प्रभाव कत्तिको पर्छ ?

नेपाली सेना प्रभावित हुनेभन्दा पनि नेपालको राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय प्रतिरक्षा नीतिबाट निर्देशित भएर नै नेपाली सेनाको सञ्चालन हुन्छ । उहाँहरूको द्विपक्षीय सम्बन्धमा हामी पस्नु उपयुक्त हुँदैन । अन्तर्राष्ट्रिय मामिलाका कुनै पनि विषयहरू र द्वन्द्वहरूको शान्तिपूर्ण ढंगबाट समाधान हुनुपर्छ भन्ने हाम्रो जुन राष्ट्रिय नीति छ, त्यही राष्ट्रिय नीतिको परिधिभित्र रहेर नै हामीले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । त्यस्ता अप्ठेराहरूको बीचमा पनि हाम्रो जति पनि मित्रराष्ट्रहरूसँग सम्बन्ध छ, ती सम्बन्धहरू द्विपक्षीय संयन्त्रअनुसार नै हुनुपर्छ ।

तपाईंहरूले भारत, अमेरिका, चीनलगायतका मित्रराष्ट्रसँग संयुक्त सैन्य अभ्यास गरिरहेको देखिन्छ । यस्तो अभ्यासलाई निरन्तरता दिँदै जाने नीति हो ?

यो ‘मिलिटरी टु मिलिटरी रिलेसन’ को एउटा पाटो हो । हाम्रो सबै मित्रराष्ट्रहरूसँग समान किसिमको सम्बन्ध छ । उनीहरूसँग मैले अघि भनेजस्तो राष्ट्रिय सुरक्षा नीतिले मार्गनिर्देश गरेको हदसम्म मात्रै यस्ता गतिविधि हुन्छन् । सामान्यता यी ‘सिम्बोलिक’ रूपमा भएका गतिविधिहरू हुन् ।

सैनिक कल्याणकारी कोषको आकार निकै ठूलो भइसकेको छ । यसबाट व्यापारिक लगानी गर्न खोजिएको पनि सुनिन्छ । यसको प्रयोग कसरी गर्ने सोचाइ बनाइएको छ ?

व्यापारिक दृष्टिकोण राखियो भन्ने टीकाटिप्पणी हामी प्रशस्तै सुन्छौं । तर कल्याणकारी कोषबाट जति पनि गतिविधिहरू भएका छन्, ती मुनाफारहित हुन् । यसबाट विभिन्न महाविद्यालयहरू सञ्चालित छन्, अस्पताल र क्यान्टिनहरू चलाइएका छन् । नेपाली सेना पनि व्यवसायीकरणतिर लाग्यो भन्दा त्यसलाई हामीले चिर्न नसकेको पक्कै हो ।

अहिले यो कोषमा करिब ६० अर्ब रकम छ । हामी यसबाट नेपाल सरकारलाई वार्षिक ५० करोडजति त कर नै तिर्छौं । अब बाह्य व्यवस्थापन वा ‘आउटसोर्सिङ’ गरेर भए पनि यो कोषलाई सदुपयोग वा परिचालन गर्नुपर्छ । तपाईंहरूले कर्मचारी सञ्चय कोषलाई तुलना गर्न सक्नुहुन्छ । उहाँहरूले विभिन्न क्षेत्रमा लगानी गर्नुभएको छ । त्यो पनि हाम्रो पैसामध्येकै पैसा हो । र, यो कोषको पनि हाम्रै पैसा हो । त्यसकारण यसलाई पारदर्शी हिसाबले परिचालन गर्न सकियो भने राज्यले नै फाइदा लिन सक्छ । तर लगानीमा जाँदा त्यसका जोखिम पनि छन् । त्यसैले यसबारे नेपाल सरकारको एक किसिमको स्पष्ट नीतिगत मार्गनिर्देशनसहित संयुक्त निर्णय लिनुपर्ने अवस्था आइसकेको छ ।

नेपाली सेना काठमाडौं–मधेस जोड्ने ‘फास्ट ट्य्राक’ को निर्माणमा पनि संलग्न छ । यो परियोजनामा अनियमितता भएको भन्दै सडकदेखि संसदीय समितिहरूमा समेत कुरा उठेको छ । यसको बजेट पनि बढेको बढ्यै छ । यस्तो अवस्थाले नेपाली सेनाको छविमा धक्का पुगेजस्तो लाग्दैन ?

अब छविमा धक्का लाग्छ भनेर ‘च्यालेन्ज’ सँग भाग्ने कुरा पनि भएन । नेपाल सरकारले यो आयोजना नेपाली सेनाको व्यवस्थापनमा गर्ने भनेको हो । त्यो भनेको नेपाली सेनालाई सम्पूर्ण कुरा आफैंले गर भनेको होइन । त्यसकारण हामीसँग जे–जे स्रोतसाधन र क्षमता थियो, हामी गरिरहेका छौं । जुन स्रोतसाधन र क्षमता हामीसँग छैन, त्यो काममा अरूलाई लगाइरहेका छौं । यो प्रोजेक्टको मोडल नै यस्तै हो ।

अहिले जुन ‘टनेल’ निर्माणको विषयमा कुरा आएको छ, त्यसमा कुनै आर्थिक अनियमितता भएको छैन भन्नेमा म विश्वस्त छु । सायद कुनै पक्षले यति ठूलो आयोजनामा अनियमितता भयो कि भन्ने शंकाका साथ निवेदन दिएको कारणले गर्दा ‘ए साँच्चै हो कि’ भन्ने सोच आएको हुन सक्छ । यदि कुनै पक्षलाई टेन्डरमा अनियमितता भयो कि भन्ने लाग्दा उजुरी दिने स्पष्ट कानुनी प्रक्रियाहरू छन् । त्यसलाई पछ्याउन सकिन्छ । केही कम्पनीहरूले ‘मलाई किन यो टेन्डर परेन’ भनेर आधिकारिक रूपमा सोध्दा हामीले जवाफ दिएका छौं । जवाफबाट उहाँहरूले चित्त पनि बुझाउनुभएको छ । कदाचित हामीले उहाँहरूको निवेदनलाई सम्बोधन नगरेको हो भने उहाँहरू सार्वजनिक खरिद अनुगमन कार्यालय र सार्वजनिक अनुगमन पुनरवलोकन समितिमा जान सक्नुहुन्थ्यो । नेपाली सेनाले यो टेन्डर प्रक्रियामा यो–यो दफाअनुसार अनियमितता गर्‍यो भनेर त्यहाँ जानुपर्छ । अनि त्यो समितिले ‘रिभ्यु’ गरिसकेपछि बल्ल नेपाली सेनाले सही गर्‍यो कि गलत भनेर निर्क्योल हुन्छ । उहाँहरू कानुनसम्मत ढंगले जान खोजेको देखिएन ।

फास्ट ट्य्राकलाई लिएर ललितपुरको खोकना क्षेत्रका बासिन्दाको पनि चासो छ । उनीहरूले त्यहाँबाट सडक बनाउँदा आफ्नो सांस्कृतिक सम्पदा मासिने भन्दै विरोध गरेका छन् । यो मामिलालाई तपाईंहरूले किन सुल्झाउन नसक्नुभएको ?

खासमा त्यो नेपाली सेनासँग सम्बन्धित विषय नै होइन, सरोकारवाला मन्त्रालयहरूसँग सम्बन्धित विषय हो । त्यति हुँदाहुँदै पनि सरोकारवाला मन्त्रालयहरूसँग समन्वय गरेर स्थानीय व्यक्तिहरूसँगै बसेर सुरुको जुन ‘अलाइनमेन्ट’ थियो, त्यसमा त्यहाँको मन्दिर पर्छ भनेपछि विकल्पमा नयाँ अलाइनमेन्ट नै तयार गरिसकिएको छ । कथंकदाचित् नयाँ अलाइनमेन्टमा पनि कुनै सांस्कृतिक सम्पदा अथवा पुरातात्त्विक चीजहरू भेटिएछन् भने पुनः अर्को अलाइनमेन्ट बनाउने सर्त डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) मै प्रस्टसँग लेखिएको छ ।

अर्कोचाहिँ, त्यहाँ अरू किसिमका मुआब्जा प्राप्त भएनन् भन्ने पनि छ । त्यहाँ अन्य आयोजनाहरू पनि आउँदै छन् भन्ने कुरा छ । त्यो अरू नै मन्त्रालयको सरोकारको विषय हो, सेनासँग सम्बन्धित विषय होइन । फास्ट ट्र्याक राज्यको महत्त्वपूर्ण, राष्ट्रिय गौरवको आयोजना भएकाले यस्ता विवादको समाधान सहमति र सहकार्यका आधारमा निकाल्नैपर्छ ।

तपाईंले अब लामो सैन्य जीवनबाट अवकाश पाउँदै हुनुहुन्छ, कस्तो अनुभूति भइरहेको छ ? अवकाशपछि के गर्ने योजना बनाउनुभएको छ ?

मैले सेनामा ४१ वर्षभन्दा बढी सेवा गरें, सन्तुष्ट भएर अवकाशमा जाँदै छु । म ग्रामीण परिवेशबाट आएको व्यक्ति हुँ । जन्मथलो (लम्जुङ) मा अलिकति जग्गा–जमिन बाँकी छ । त्यहीँ फर्केर समय बिताउने, कृषि क्षेत्रमा काम गर्ने र युवाहरूलाई ‘मोडल एग्रिकल्चर’ मा आकर्षित गरेर गाउँ फर्काउने मेरो एउटा सपना छ, त्यसमा लाग्ने भन्ने हो । हुन त यो सोच र सपना त्यति सहज छैन तैपनि समुदायस्तरमा काम गर्ने कोसिस गर्छु ।

Source: https://ekantipur.com/Interview/2021/08/10/162856049963361393.html