सकियो तीनदिने संसदीय सुपरिवेक्षण कार्यशाला
तीनदिने संसदीय सुपरिवेक्षण तथा छलफल र अनुभव आदानप्रदानसम्बन्धी कार्यशाला काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ ।
सुरक्षा र सुशासनसम्बन्धी काम गर्दै आइरहेको नेपाल सेन्टर फर सेक्युरिटी गभर्नेन्स (एनसीएसजी) ले प्रतिनिधिसभा एवं प्रदेश सभाका सदस्यहरूका लागि कार्यशालाको आयोजना गरेको हो ।
कार्यशालामा अन्तर्राष्ट्रिय संसदीय सुपरिवेक्षण अभ्यास र सुरक्षा क्षेत्रको अवस्था तथा अनुभवका बारेमा छलफल भएको थियो ।
कार्यशालामा सहभागी संघीय तथा प्रदेश सभाका सांसदहरूले संसदीय अभ्यास र त्यसको सुपरिवेक्षण अवस्थाका बारेमा आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेलले सुरक्षाको सवालमा परम्परागत सुरक्षाका चुनौतीहरूको सम्बोधन गरेर मात्र नपुग्ने बताइन् । मानव केन्द्रित सुरक्षाका सवालहरूलाई समेत विशेष प्राथमिकता दिन जरुरी रहेको उनको भनाइ छ ।