संसदीय लोकतन्त्रबारे पत्रकारलाई तालिम
धुलिखेल : नेपाल सेन्टर फर सेक्युरेटी गर्भर्नेन्स (एनसिएसजी) को आयोजना तथा युएनडीपीको संसद सहयोग परियोजनाको सहयोगमा देशभरका पत्रकारहरूलाई संसदीय लोकतन्त्र र पत्रकारिता विषयक तालिम दिइएको छ।

सातवटै प्रदेश र संघीय संसदमा रिपोटिङ गरिरहेका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न काभ्रेपलान्चोकको धुलिखेलमा तीन दिने तालिम दिइएको हो।
तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धि भई संसदीय लोकतन्त्र र संघीयता सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने एनसिएसजीका अभयराज जोशीले बताए।
तालिमलाई नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, पत्रकार हरिबहादुर थापा, जगत नेपाल, कानून आयोगका पूर्वअध्यक्ष माधव पौडेल, प्रतिनिधि सभाका निवर्तमान सांसद डा. दीपकप्रकाश भट्ट र भारतीय पत्रकार सचिन बुधौलियाले सहजीकरण गरेका थिए।
सहभागीहरूलाई संसदीय लोकतन्त्रको अवधारणा, विगत र वर्तमान अभ्यास, संसदीय पत्रकारिताको अन्तराष्ट्रिय अभ्यास, नेपालको संघीय र प्रदेश संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरूलाई आवश्यक ज्ञान, सिप अनुभव लगायतका विषयमा जानकारी गराइएको थियो।
सहभागी पत्रकारहरूले संसदमा सूचना संकलनका क्रममा भोगेका समस्याहरू, संसदीय पत्रकारिताका जटिलता र अविस्मरणीय घटनाहरू सुनाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै युएनडिपीको संसद सहयोग परियोजना प्रमुख राजबहादुर श्रेष्ठ र टिम लिडर डिलादत्त पन्तले संसदीय लोकतन्त्रबारे जानकारी दिनुका साथै आगामी दिनमा पनि यस किसिमको कार्यक्रम प्रदेशस्तरसम्म पुर्याइने बताए।