देशभरका पत्रकारहरुलाई संसदीय लोकतन्त्रबारे तालिम
धुलिखेल । काभ्रेको धुलिखेलमा संसदीय लोकतन्त्र र पत्रकारिताबारे सातै प्रदेशका पत्रकारहरुलाई तालिम दिइएको छ । नेपाल सेन्टर फर सेक्युरिटी गभर्नेन्स (एनसिएसजी) को आयोजना तथा (युएनडिपी) संसद् सहयोग परियोजनाको सहयोगमा पत्रकारहरुलाई भेला पारेर संसदीय लोकतन्त्र र पत्रकारिता विषयक तीन दिने तालिम दिएको हो ।
सात वटै प्रदेश र संघीय संसदमा रिपोटिङ गरिरहेका पत्रकारहरूको क्षमता अभिवृद्धिमार्फत संसदीय लोकतन्त्र र संघीयता सुदृढीकरणमा लक्षित रहेर आयोजना गरिएको जनाइएको छ ।
पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, अग्रज पत्रकार हरिबहादुर थापा, जगत नेपाल, कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल र निवर्तमान सांसद डा.दीपकप्रकाश भट्ट र भारतीय पत्रकार सचिन बुधौलियाले संसदीय लोकतन्त्रको अवधारणा, विगत र वर्तमान अभ्यास, संसदीय पत्रकारिताको अन्तराष्ट्रिय अभ्यास, नेपालको संघीय र प्रदेश संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरूलाई आवश्यक ज्ञान, सिप अनुभवलगायतका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागी पत्रकारहरूले संघ र प्रदेशको संसदमा रिपोर्टिङ गर्दाको अनुभव, जटिलता र अविस्मरणीय घटनाहरूको चर्चा गरेका थिए । कार्यक्रममा युएनडिपीको संसद् सहयोग परियोजनका प्रमुख राजबहादुर श्रेष्ठ र टिम लिडर डिलादत्त पन्तले संसदीय लोकतन्त्रबारे जानकारी तथा सञ्चारकर्कीको क्षमता अभिवृद्धिमा मद्दत गर्न खोजिएको बताए ।
कार्यक्रममा एनसीएसजीका अभयराज जोशी र चिरन्जिवी भण्डारीले आगामी दिनमा पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि अन्य कार्यक्रमहरु पनि आयोजना गरिने बताए ।